मापदण्डविपरित एसएसपीको पनि सरुवा तयारी, कसको सम्भावना कहाँ ?


काठमाडौं — पछिल्लो समयमा सरुवा र बढुवामा मापदण्ड र बरियता मिचिइरहेको नेपाल प्रहरीमा अर्को तयारी गरिएको छ । गृहमन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको समय अगावै सरुवा गरेर मापदण्डविपरितको तयारी थालिएको हो ।

संगठन प्रमुख देशबाहिर रहेको बेला गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष निर्देशनमा सरुवाको तयारी गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहले जिल्ला प्रहरी परिसर काठमाडौंका इन्चार्ज, उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन लगायतका इन्चार्जहरुको सरुवा गर्ने तयारी गरेको हो। गृहमन्त्रीले केही एसएसपीहरुको समय अगावै सरुवा गर्ने अन्तिम तयारी भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ।

मन्त्री लामिछानेले समय अगावै जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भुपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठोरलाई सरुवा तयारी गरेका छन् । खत्रीको ठाउँमा कमजोर कमान्ड भएका वसन्त रजौरे र राठौरको स्थानमा सानुराम भट्टराईलाई पठाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार काठमाडौं परिसरको एसएसपीमा ओमबहादुर अधिकारीको पनि सम्भावना देखिएको छ ।

एसएसपीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय महत्वपूर्ण युनिट मानिन्छ। खत्री र राठोर संगठनकै उत्कृष्ट कर्मचारी हुन् । भविष्यमा संगठनको नेतृत्वसम्म पुग्न सक्ने क्षमताका अधिकृतहरुलाई समय अगावै जिम्मेवारी खोसिन लागेपछि नेपाल प्रहरीमा व्यापक असन्तुष्टी देखिएको छ ।

योसँगै अन्य युनिट एवं प्रदेश प्रहरी लगायतमा कार्यरत केही एसएसपीको समेत सरुवा हुने सम्भावना छ।

यसअघि अन्तिम चरणमा रहेको डिआईजी बढुवा पनि संगठन प्रमुख एवं प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवर फ्रान्स भ्रमणमा गएपछि रोकिएको थियो । अब कुँवर स्वदेश फर्कनासाथ डिआईजी बढुवा, एसएसपी सरुवा र इन्सपेक्टरको सरुवा गरिने जनाइएको छ ।

यसअघि पनि केही जिल्लाका एसपीहरुलाई सरुवा भएको एक महिनामै सरुवा गरेर विवादित बनेको प्रहरी संगठनमा पुनः मापदण्डविपरित अर्को सरुवा गर्न लागिएको छ ।

त्यस्तै बढुवामा पहिलो नम्बरका डिएसपीलाई छाडेर बरियतामै नभएका डिएसपीको बढुवा र डिएसपी बढुवामा पनि हस्तक्षेप भएको समाचार प्रकाशित भएका थिए ।

प्रतिक्रिया