
नेताद्वय खनाल र नेपाल पक्षको गुनासो- भर्खरै एमाले भएको जस्तो व्यवहार गरियो
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।
खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भए पनि नेता द्धवय खनाल र नेपालले प्रधानमन्त्री ओलीको हालको गतिविधि आपत्तिजनक रहेको एक स्थायी कमिटी सदस्यले बताए ।
‘अहिले कोही पहिलेबाटै एमाले भएको र कोही भर्खरै भएको जस्तो व्यवहार गरिदैछ, यस्तो गतिविधि बन्द गरिनुपर्छ’, ती नेताले भने । उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दैछन् ।
अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन पनि खनाल र नेपालले आग्रह गर्ने तयारी गरेका छन् । अदालतको फैसलाको भावना विपरीत अर्थ लगाउने कार्य जारी रहे राजनीतिक प्रतिवाद गर्न तयार हुने पनि छलफलले निष्कर्ष निकालेको छ ।



कागजपत्र |
