

आजदेखि निजी अस्पतालमा स्वास्थ्य बिमाको २० प्रतिशत सेवाग्राहीले तिर्नुपर्ने

काठमाडौं- स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकले बिमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ ।
स्वास्थ्य बिमा बोर्डको गत २४ फागुनमा बसेको बोर्ड बैठकले सेवा प्रदायक सरकारी बाहेकका अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको थियो। बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले त्यसको कार्यान्वयन १ वैशाख २०८१ देखि लागु हुने पूर्व निर्णय अनुसार कार्यान्वयनमा आएको बताए ।
बोर्डले सरकारी अस्पतालहरूको सक्षमता विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण वृद्धि गर्न यस्तो निर्णय लिइएको बताएको छ । तर कतिपय सेवाग्राहीले भने बोर्डले थाहा नै नदिई आफूखुसी नियम परिवर्तन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सह भुक्तानी (को पेमेन्ट) लागु गर्ने कार्यविधि, २०८० संशोधन गरेर यस्तो निर्णय कार्यान्वयनमा आएको बताएको छ ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका सरकारी बाहेकका सबै खाले अस्पतालहरूको सिस्टममा संशोधन गरिसकेको, त्यसका लागि पत्राचार गरिसकेको र दर्ता सहयोगी, तथा जिल्लास्थित दर्ता अधिकारीहरूलाई समेत यसबारेमा सबै जानकारी भइसकेको जनाएको छ ।

