

नक्कली प्रमाणपत्र पेस गरेर बालविकास सहजकर्ता बनेकी पुनमविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ताविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको छ ।
पर्साको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत पुनम देवी कुर्मीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
कुर्मीले ठाकुर महेश्वर प्र. सिंह संस्कृत प्रा. सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेस गरी विद्यालयमा नियुक्त भएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
आयोगले उनलाई कैद र जरिवाना माग गरेको छ ।

