

प्रहरीका ७ एसपी कारबाहीमा, को–को के कारबाहीमा परे ?

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ८ नयाँ प्रहरी उपरिक्षक (एसपी) को पदस्थापन गरेको छ भने १६ पुराना एसपीहरुको सरुवा गरेको छ ।
सरुवा गरिएका १६ एसपीमध्ये ७ जना कारबाहीमा परेका छन्। हेडक्वार्टरले पछिल्लो समय विवादित छवि र कार्य सम्पादनमा कमजोरी देखिएपछि ती ७ एसपीहरुलाई कारबाहीस्वरुप अवधि नपुग्दै सरुवा गरेको हो ।
सरुवाको सूचीअनुसार हेडक्वार्टरले दयानिधी ज्ञवाली, सञ्जयसिंह थापा, सुवास चन्द्र बोहोरा, मित्रबन्धु शर्मा, श्यामकुमार राई, महेन्द्रकुमार श्रेष्ठ र सुरेशप्रसाद काप्mलेलाई अवधि नपुग्दै सरुवा गरिएको छ ।
उनीहरुमध्ये ज्ञवालीलाई एक महिना अगाडिमात्र जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको थियो । उनीविरुद्ध उजुरी परेपछि उनलाई हेडक्वार्टरले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा सरुवा गरेको छ । त्यस्तै नुवाकोटमा रहेका सञ्जयसिंह थापा सुन तस्करी काण्डमा विवादित भएपछि हेडक्वार्टरले तानेको हो । थापालाई नुवाकोटबाट तानेर मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
यस्तै एसपी सुवास चन्द्र बोहरालाई पनि जिल्ला प्रहरी कार्यालय बाँकेबाट तानेर मधेश प्रदेश नै पठाइएको छ ।
त्यस्तै मित्रबन्धु शर्मालाई धनुषाबाट तानेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा ल्याइएको छ । यस्तै श्यामकुमार राइलाई महोत्तरीबाट तानेर अपराध अनुसन्धान विद्यालय काठमाडौं, महेन्द्र कुमार श्रेष्ठलाई रौतहटबाट तानेर हेडक्वार्टर लगिएको छ भने सुरेश प्रसाद काफ्लेलाई बाराबाट तानेर नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेतमा पठाइएको छ।
उनीहरूलाई महिला कर्मचारीसँगको लसपस, कार्य क्षेत्रमा तस्करी नियन्त्रण गर्न असफल रहनुका साथै तस्करसँगको मिलेमतो रहेको देखिएपछि हेडक्वार्टरले सरुवा भएको अवधि नपुग्दै सरुवा गरेको हो ।

