

श्रीलंकन नागरिकलाई युरोप पठाउने भन्दै बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

काठमाडौं – पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको चलखेल बढ्दो क्रममा देखिएको छ ।
त्यस्तै घटना अहिले पनि सार्वजनिक भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको पछिल्लो घटना त्यस्तै देखिएको छ ।
कार्यालयले हालै श्रीलंकाली नागरिकहरुलाई वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पठाइदिने भन्दै बन्धक बनाउने पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ गरेको छ ।
कार्यालयका अनुसार श्रीलंकन नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याई उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखी पिडितहरूको पासपोर्ट नियन्त्रणमा लिई बिभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसंग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेको अवस्थामा यस कार्यालयबाट खटिएको टोलिले बिहीबार उनीहरूको उद्धार गरी बन्धक बनाउने चार जनालाई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
कार्यालयका अनुसार पक्रउ पर्नेमा पाकिस्तानी नागरिकहरु जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिह रहेका छन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक लिन नहुने कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको पनि कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत नकुल पोखरेलले जनाए ।

