

समर्थन फेर्दे हर्क साम्पाङ, थेगिमलाई भोट माग्न पुगे इलाम

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले इलाम-२ को उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै उनको घरदैलोमा भोट माग्न पुगेका छन् । थेगिमको चुनावी सभामा उपस्थित भएर साम्पाङले समर्थन जनाए ।
हर्क हिजोमात्रै ‘ऐतिहासिक यात्रा’ का लागि भन्दै किराँत धर्म गुरु आत्मानन्द लिङ्देनलाई भेट्न उनको कुटी भएको स्थान माङ्सेवुङ् पुगेका थिए । मेयर साम्पाङले केही दिनयता डाकेन्द्रलाई जिताएर इलाम-२ ले इतिहास रच्ने समेत फेसबुकमा जिकिर गर्दै आएका छन् ।
यसअघि उनले रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई समर्थन गर्ने समाचार बाहिरिएको थियो । लिम्बूले रास्वपाबाट उम्मेदवारी दिएपछि भने मेयर साम्पाङ्गले पहिचानवादीकै पक्ष लिनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् । मेयर साम्पाङले आफू पनि स्वतन्त्र भएकाले स्वतन्त्रलाई नै सघाएको बताएका छन् ।

