काठमाडौंका निजी विद्यालयलाई नेपालीमा नाम राख्न महानगरको निर्देशन, नत्र विद्यार्थी भर्ना रोक्ने


काठमाडौं- हाल काठमाडौं महानगरपालिकाभित्रका अधिकांश विद्यालयको नाम अंग्रेजीमा छ । साेही कारण काठमाडौं महानगरपालिकाले ७ दिनभित्र निजी विद्यालयहरूले नेपाली नामकरणको प्रक्रिया सुरू गर्न निर्देशन दिएको छ । नगरे नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना रोक्ने चेतावनीसमेत दिएको छ ।

महानगरको शिक्षा विभागले बधुबार एक सूचना जारी गरी शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

‘महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकूल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि ( ७ दिन) मा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ती प्रक्रियामा रोक लगाउनेसहित कानुनबमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ सूचनामा छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया