

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, कति नम्बरमा परे विनोद चौधरी ?

काठमाडाैं- अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ। जुन गत वर्षको भन्दा १४१ जना बढी हो ।
विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो ।
नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।
विश्वका अर्बपतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। गत वर्ष चौधरी १६ सय ४७औँ स्थानमा थिए ।
यी हुन् विश्वका शीर्ष २० अर्बपति :
१) बर्ना आर्नो : लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्ना आर्नो यो वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।
२) एलन मस्क: एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।
३) जेफ बेजोस: अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।
४) मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।
५) ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।
६) वारेन बफेट: वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।
७) बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।
८) स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।
९) मुकेश अम्बानी : टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।
१०) ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।
११) सर्गेइ ब्रिन : गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।
१२) माइकल ब्लुम्बर्ग: वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।
१३) अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।
१४) कार्लोस स्लिम हेलु : ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।
१५) फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।
१६) माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।
१७) गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।
१८) जिम वाल्टन: फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।
१९) रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।
२०) जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।

