माओवादी केन्द्र अर्थात् ‘प्रचण्ड’ सत्तापक्ष न प्रमुख प्रतिपक्ष, यस्तो बन्दैछ नयाँ सत्ता समीकरण


काठमाडौं– प्रतिनिधि सभा पुनःस्थापनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई सदनमा ‘लुलो’ पार्टीका रुपमा राख्ने नयाँ सत्ता समीकरण बनाइने भएको छ।

प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टिकाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता पक्ष न प्रतिपक्षको नेता बनाउने समीकरणको अभ्यास थालिएको हो।

अबको चुनावी समयसम्मका लागि प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षमा नेपाली कांग्रेस र सत्ता साझेदारीमा नेकपा एमाले र जनता समाजवादीको सहमति बनाउने राजनीतिक खेल सुरु भएको हो।

बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्र सत्ता पक्षकै सिटमा बस्ने भएको छ। तर, उसले एमालेसँगको गठबन्धन सरकारबाट विश्वासको मत फिर्ता लिने तयारी र निर्णय भने गरेको छैन।

तर माओवादीलाई सत्ताबाहिर राखेर लुलो अवस्थामा पुराउने तयारीअनुसार जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने भएको छ। उक्त पार्टीले सत्ता समीकरणका लागि कार्यदल बनाउने औपचारिक निर्णय गरे पनि एमालेलाई नै समर्थन गर्ने उच्च स्रोतले जनाएको छ।

एमालेलाई सत्ता समीकरण अघि जेलमा रहेका सांसद रेशम चौधरीलाई पनि रिहाई गर्ने तयारी भएको छ। उनी रिहा भए जसपा सरकारमा जाने बाहना मात्र हुँदैन, एमालेको समर्थनमा एक सिट बढी हुनेछ। १२१ रहेको एमालेका लागि ३३ सिटको समर्थन हुँदा  सरकार बन्ने बहुमत पुग्नेछ।

‘माओवादी केन्द्र र प्रचण्डको सत्ता राजनीतिलाई कमजोर बनाउने रणनीति भन्नुहोस् या ओलीलाई अझ बलियो बनाउने खेल यो त्यहि हिसाबले अगाडि बढ्नेछ’, स्रोतले भन्यो।

एमाले र जसपाको मात्रै सरकार बनेको खण्डमा प्रतिनिधि सभामा माओवादी केन्द्र प्रमुख प्रतिपक्षीको हैसियतमा रहने छैन। नेपाली कांग्रेस ६३ सिटसहित प्रमुख प्रतिपक्षीको हैसियतमा राख्ने समीकरण बनाउन लागिएको हो।

प्रतिक्रिया