प्रतिनिधि सभाको दोस्रो बैठक आज, यस्ता छन् सम्भावित कार्यक्रमहरु


काठमाडौँ – विघटित प्रतिनिधि सभा पुनः स्थापनापछि बुधवार (आज) दोस्रो बैठक बस्दै छ।

गत आइतबार प्रतिपक्षीको विरोधपछि स्थगित भएको पहिलो बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेका छन् ।

फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध पारेको थियो भने तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए।

विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २५ सम्मका लागि स्थगन गरी फागुन २६ का लागि अर्को बैठक बोलाएका थिए। आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेस गरिने भएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस हुने संसद् सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया