

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौं — तनहुँमा निर्माणाधीन रहेको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङमा ब्रेक थ्रु भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।
आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मि लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको व्यास सात दशमलव चार मिटर रहनेछ । अब मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ ।
सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरेका थिए ।

