जसपाका २५ सांसद शर्तसहित ओलीको समर्थनमा ! ‘त्यसो नभए प्रतिनिधि सभा भंगको अवस्था’


काठमाडौं– प्रतिनिधि सभाको चौथो दल जनता समाजवादी पार्टीका २५ जना सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिनुपर्ने अडानमा रहेका छन्।

मंगलबार अबको सत्ता समीकरणका विषयमा बोलाइएको संसदीय दलको बैठकमा नेतृत्वलाई बहुमत सांसदले ओलीका पक्षमा उभिनका लागि अपिल गर्ने भएको स्रोतले जनाएको छ।

‘हामीले अहिले नेकपा माओवादी र कांग्रेसलाई समर्थन गर्ने बेला होइन, गरे ओलीको सरकारलाई गर्ने हो र चुनावसम्म जाने हो’, एक नेताले भने,‘त्यसो नहुने हो भने त हामी सरकार बन्ने कुनै पनि समीकरणमा सहभागी बन्नु हुँदैन।’

आफ्नो दलले संविधान नै अपूर्ण रहेको भनी आन्दोलन गरिरहेका बेला सर्तसहित ओलीलाई समर्थन गर्दा मात्र जस पाउन सकिने उनीहरूको ठम्याई रहेको छ।

‘संविधान संशोधन गराई हाम्रा माग पूरा गराउनका लागि ओलीसँगको सहकार्य नै सफल हुनेछन्। सत्तामा समर्थन गर्न उनलाई बहुमत चाहिन्छ त्यसैले तयार हुनेछन्’, ति नेता भन्छन्,‘सम्झौता गरेपछि हाम्रो समर्थनबिना उनको सरकार चल्न सक्तैन, हाम्रा मागअनुसार संशोधन गर्नका लागि कांग्रेस माओवादी यसै पनि बाध्य हुनेछन्।’

पहिला एमाले र माओवादीको गठजोडको मात्र सरकार हुँदा मधेस आन्दोलनका मागअनुसार संविधान संशोधन हुन मुस्किल रहेको ठम्याउँदै २५ सांसदले ओलीलाई रणनैतिक समर्थन गर्नुपर्ने सुझाव दिँदैछन्। जहाँ अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतका तत्कालिन संघीय समाजवादी पार्टीका नेताहरु ओलीसँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्।

तत्कालिन राष्ट्रिय जनता पार्टीका सबैसहित संघीय समाजवादीका आधा भन्दा धेरै सांसदले एमालेलाई समर्थन गरी बहुमतको सरकारमा सामेल हुनुपर्ने जिकीर गरेका हुन्।

उच्च स्रोतले भन्यो,‘कांग्रेसले समर्थन गर्ने अवस्था छैन, माओवादी केन्द्रले ओलीको विकल्प खोजीरहेको छ। यस्तो बेलामा तीन दल मिलेर सरकार बनाउँदा कांग्रेस र माओवादी हावी हुन्छन्, हाम्रो स्थान कहाँ हुन्छ? त्यहाँमाथि संविधान संशोधनको प्रस्तावमा ओली एक्लैले समर्थन गरेनन् भने पारित हुनेवाला छैन।’

त्यसो त जसपामा संयुक्त राष्ट्रिय सरकारको प्रस्तावका विषयमा पनि कुराकानी भइरहेका छन्। कुनै विकल्प नभए चुनावमा जानका लागि राष्ट्रिय सहमतिका आधारमा संयुक्त राष्ट्रिय सरकार बनाउने विषयमा डा. भट्टराईले नयाँ प्रस्ताव गर्ने भएका छन्।

यस्तो अवस्थामा पनि सहमति नभए प्रक्रियागत रुपमा तटस्थ बसिदिने र सरकार नबन्ने अवस्थामा ओलीको अल्पमतको सरकारले प्रतिनिधि सभा विघटनको घोषणा गरी चुनावमा जाने रणनीतिमा पनि जसपा जुटेको छ।

प्रतिक्रिया