रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्का


गलेश्वर – नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उहाँको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ । उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका थिए । कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिाए ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात थिए। एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहेका उनका एक छोरा र एक छोरी छन् ।

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया