

दुधौलीमा महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका अवसर र चुनौती विषयक अन्तरक्रिया

सिन्धुली – ‘महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै दुधौलीमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो ।
दुधौली नगरपालिकाको आयोजना र सहकार्य नेपाल सिन्धुलीको साझेदारीमा सम्पन्न उक्त अन्तरक्रियामा वडाअध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य तथा समूदायका अगुवा महिला तथा पुरूषको सहभागीतामा महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका अवसर र चुनौती विषयमा छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा सहकार्य नेपालका WESAF परियोजनाका कार्यक्रम व्यवस्थापक ठाकुर खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए ।
दुधौली नगरपालिकाकी उपप्रमुख बालकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिंसा के हो ? हिंसा भएमा के गर्ने ? कहाँ उजुरी दिने ? हिंसा गर्ने व्यक्तिलाई कस्ता खालका सजाय हुन्छन् भन्ने विषयका साथै महिलाको वर्तमान अवस्था, आर्थिक तथा सामाजिक सशक्तिकरण अवसरहरु र यसका चुनैतीहरू के-कस्ता छन् भन्ने विषयमा बृहतरूपमा अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा सहकार्य नेपाल सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले महिलाका आर्थिक तथा सामाजिक सशक्तिकरणका अवसर र चुनौतीहरु बारेमा आफ्ना भनाई राख्दै महिला सशक्तिकरणका लागि सहकार्य नेपाल सदैव लागि पर्ने प्रतिबद्धता व्यक्ति गरेका थिए ।
दुधौली नगरपालिकाकी उपप्रमुख बालकुमारी अधिकारीले आफू हिंसा न्यूनीकरणमा सदैब लागिपरेको र महिलाको आर्थिक तथा सामाजिक ससक्तिकरण लागि नगरपालिकाबाट बजेट समेत छुट्याइएको जानकारी गराउँदै आगामी दिनमा पनि लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।
अन्तरक्रिया WOMAN BANK र FCA को आर्थिक सहयोगमा सहकार्य नेपाल, सिन्धुली र महिला उद्यमी महासंघ नेपाल, दुधौली नगरपालिकाको साझेदारीमा आयोजना गरिएको थियो ।

