एमालेमा माधव नेपाल रणनीतिः पार्टी नचोइट्याउने, नेतृत्व कब्जा गर्ने, यसरी बढाइनेछ योजना


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र माधवकुमार नेपाल पक्षधरले महाधिवेशनलाई मूल मुद्दाका रुपमा उठाउने भएका छन्।

नेकपा एकीकरण भंग भएपछि अब एमालेभित्र संस्थापनइतरले यहि योजनालाई कार्यान्वयन गराउने रणनीति अख्तियार गर्ने भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन गराउने मिति तोक्नका लागि विभिन्न तहका बैठकमार्फत दबाब दिइनेछ।

स्थायी समिति र पोलिटव्युरोमा बहुमतमा रहेको नेपाल पक्षले केन्द्रीय समितिमा पनि हस्तक्षेप गरी महाधिवेशनका लागि मिति तय गर्न विधिवत निर्णय गराएर नेतृत्वमा हस्तक्षेप गर्ने भएको हो।

‘सरकारमा एमाले हुन्छ या हुँदैन भन्ने विषयलाई अहिले रणनीतिका रुपमा होइन, अब पार्टीको महाधिवेशनको एजेन्डा मुख्य हुनेछ’, नेपालनिकट एक केन्द्रीय सदस्यले भने,‘अन्तरविरोध त सतहमा देखिएकै छ। अब पार्टीभित्र संघर्ष हुनेछ।’

कतिपयले केन्द्रीय समिति र संसदीय दलमा पनि आवश्यक संख्या पुराएर पार्टी विभाजनको तयारी गरिरहेको भनी हल्ला फिँजाए पनि त्यसमा कुनै सत्यता नरहेको ति नेताले बताए।

‘पार्टी विभाजन हुँदा कति दुख हुन्छ हामीलाई थाहा छ। तर अन्तरसंघर्षबाट नेतृत्वमा उदय हुने सम्भावना बलियो छ। हरेक जिल्लादेखि केन्द्रसम्ममा नेता नेपाल पक्षको राम्रो प्रभाव र दबाब रहेको छ’, उनी भन्छन्,‘यसैले एमालेको महाधिवेशन गर्ने बेला भएको छ। सरकारको खेल सदनमा होला, हामीले त नयाँ नेतृत्व चयनको मुद्दालाई बलियो बनाउने हो।’

नवौं महाधिवेशन भएको ६ बर्ष नाघिसकेका कारण एमालेले नयाँ नेतृत्वका लागि दशौं महाधिवेशन गर्नुपर्ने बेला भएको छ। ‘ओलीले अहिले आलटाल गर्न सक्छन्। तर आगामी चुनावमा जानुअघि नै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर ओली प्रवित्तिलाई खुम्च्याउने तयारी भएको छ’, उनी भन्छन्।

एमालेको सचिवालय बैठक बसेपछि नेताका जिम्मेवारीका सवालमा भन्दा पनि स्थायी समितिको बैठकको माग राख्ने तयारी छ। स्थायी समितिमा महाधिवेशनका लागि प्रस्ताव पारित गराउँदै पोलिटव्युरो र त्यसपछि केन्द्रीय समितिमार्फत महाधिवेशन बोलाउन माग गरिनेछ।

‘अब एमालेको विधान पनि सक्रिय भएको छ। त्यसकारण विशेष परिस्थिति एकीकरणका दुई बर्ष थिए अब महाधिवेशन मूल एजेन्डा नै हो। नयाँ नेतृत्व आएपछि कम्युनिस्ट ध्रुवीकरणका अधुरा काम पूरा हुनेछन्’, उनी भन्छन्।

प्रतिक्रिया