माधव नेपाल समूहको निर्णयः एमालेमै फर्किने तर ह्विप नमान्ने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल समूह अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वि नमान्ने निर्णयमा पुगेको छ।

सोमबार नेपाल समूहको मात्रै बैठक अर्याल होटलमा भएको थियो। पुष्पकमल दाहाल प्रचण्डको समूहको स्थायी समितिको बैठकअघि भएको निर्णय र समझदारी सुनाइएको छ।

‘हामी प्रवित्तिसँग लडेका हौं, अदालतको आदेशका कारण एउटा विशेष अवस्था आइ परेको छ। हामी एमाले फर्किन्छौं तर ओली प्रवित्तिविरुद्ध लड्छौं। ह्विप मान्नेवाला छैनौं’, नेपाललाई उदृत गर्दै स्रोतले भन्यो।

एमाले र माओवादी ब्युँताइएको विषयमा भने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णयमा पनि उक्त समूह पुगेको छ। आफूनिकट कानुनविदसँगको परामर्शका आधारमा पुनरावलोकनका लागि निवेदन दिँदै त्यो प्रक्रिया जारी रहुन्जेल एमालेभित्र रहेर ओलीसँग संघर्ष गर्ने सहमति बनेको एक नेताले बताए।

‘एमाले ओलीको मात्र होइन, हामीले संघर्ष गरेर बनाएको पार्टी हो। हाम्रो उपस्थिति त्यहाँ बलियो छ। हामी संघर्ष गर्नका लागि सक्षम छौं भन्ने नै निष्कर्श हो’, ति नेताले सुनाए।

आइतबार नेकपाको विवादबारे सर्वोच्च अदालतले फैसला सुनाएपछि राजनीतिमा नयाँ घटनाक्रम विकास भएको छ। नेकपाको आधिकारिकताले नयाँ मोड लिएको छ।

मंगलबार निर्वाचन आयोगले सर्वोच्चको फैसलाअनुसार नै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई पत्र लेखी एकीकरण गर्ने भए नयाँ नाम लिएर आउन पत्राचार गर्दैछ।

सन्ध्या तिवारीको नाममा दर्ता भएको एमाले र गोपाल किराँतीको नाममा दर्ता रहेको माओवादी केन्द्रलाई पनि आयोगले खारेज गर्दैछ।

प्रतिक्रिया