

ह्याम्स अस्पतालको लापरवाहीले मृत्यु भएका निरौला प्रकरण छानबिन गर्न तीन बुँदे सहमति

काठमाडौं– मण्डिखाटारस्थित ह्याम्स अस्पतालले अल्सर भएका बिरामीको उपचारमा लापरवाही गरी मृत्यु भएका देवेन्द्र निरौला प्रकरण छानबिन गर्न तीन बुँदे सहमति गरिएको छ।
मृतकका आफन्त र अस्पताल प्रतिनिधिबीच सोमबार तीन बुँदे सहमति भएको हो।
मृतक पक्षका तीन जना प्रतिनिधी राखेर छानबिन टोली गठन गरी तत्काल अस्पतालले मेडिकल काउन्सिललाई अनुरोध गर्ने, मृतक निरौलाको शवको पोष्टमार्टम गरी मृत्युको कारण पत्ता लगाउने र अन्य कुराको हकमा भने कानुन बमोजिम निर्णय गर्ने तीन बुँदे सहमति भएको हो।
सहमतिमा मृतक परिवारका तर्फबाट ज्ञानेन्द्र निरौला, सुवास निरौला र योगेन्द्रबहादुर खड्का तथा अस्पतालका तर्फबाट डा. ज्योती शर्मा, रामप्रसाद आचार्य र इन्द्रमणि घिमिरेले हस्ताक्षर गरेका छन्।
तेह्रथुमको म्याङलुङ–३ का ४५ बर्षिय निरौलालाई अकास्मात पेट दुखेपछि विहीबार ह्याम्स अस्पतालमा लगिएको थियो। अस्पतालले अल्सर भयो भनेर सोही दिन महँगो शुल्कमा बेड भर्ना गरायो।
शुक्रबार निरौलाले पेट दुखेको बताएपछि अस्पतालले उपचारका नाममा अनेकथरी सिरिन्च र स्लाइनको ओभरडोज दियो। आइतबार निरौलाको अस्पतालमा नै मृत्यु भयो। पीडित परिवारका अनुसार अस्पतालले मनपरी ढंगले औषधिको प्रयोग गर्दा साधारण बिरामीको मृत्यु भएको परिवारको आरोपपछि अस्पतालमा तनाव भएको थियो।
अस्पतालले मृत घोषणा गरी आफन्तलाई शव बुझ्न भन्यो। तर पीडित परिवारले अस्पतालले कसरी उपचार गरेको भन्नेबारेमा जानकारी नलिई शव नबुझ्ने अडान लिएका थिए।
अस्पताल प्रशासनले भने प्रहरीसँगको सेटिङमा सोमबार शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको थियो। विवाद र तनाव भएपछि अस्पतालले तीन बुँदे सहमति गरेको हो।

