त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल


काठमाडौं- काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमै १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

अस्पतालले गत आर्थिक वर्ष २०७९÷८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए ।

उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण, शल्यक्रिया र  औषधि वितरण गरेको अध्यक्ष डा पोखरेलले जानकारी दिए ।

उक्त कार्यका लागि अस्पतालले रु २७ लाख २०० खर्च व्यहोर्नुपरेको थियो । अस्पतालले विद्यालय आँखा कार्यक्रमअन्तर्गत सो अवधिमा एक हजार ७२१ जना ग्रामीण समुदायका विद्यार्थीलाई पठन÷पाठनका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्करुपमा उपलब्ध गराएको थियो । त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालले गत आवमा सिमरा र गोरखा जिल्लामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गराएको थियो ।

त्यस कार्यका लागि रु ५२ लाख ५६ हजार खर्च लागेको अस्पतालले जनाएको छ । उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम प्रशिक्षणसमेत प्रदान गरेको छ । गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा रु २९ लाख ९५ हजार मूल्य बराबरको सेवामा आर्थिक सहायता छुट प्रदान गरेको छ ।

अस्पतालले जनताको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभअर्थात् रु १०० मा ओपिडी उपचार सेवा प्रदान गर्दैआएको छ ।  जिल्लाबाट रिफर भई आउने तथा जटिल खाले रोग लागेका तर आर्थिक हिसाबले विपन्नलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्दैआएको छ । त्यस्ता विभिन्न बिरामीलाई सेवा र आवश्यकताअनुरुप छुटको व्यवस्था गरिएको छ । अस्पतालमा हाल सातामा १८० देखि दुई सयसम्म शल्यक्रिया हुने गरेको छ ।

अस्पतालले मुुलुकका विभिन्न भागमा आँखा शिविर सञ्चालन गरी वार्षिकरुपमा रु ८६ लाख मूल्य बराबर सहयोग पु¥याएको छ । त्यस क्रममा अघिल्लो वर्ष शिविरमार्फत २७ हजार २०० बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । अस्पतालले पछिल्लो समय मेसिनको अभावमा चश्मा नलगाउन पर्ने शल्यक्रियाबाहेक आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध गराउँदैआएको छ ।

 

 

प्रतिक्रिया