काठमाडौं महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने


काठमाडौं- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।

उक्त कार्यका लागि काठमाडौँ महानगरपालिकाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस) को युजन नेम र पासवर्ड उपलब्ध गराउन थालेको छ ।

बागमती स्वास्थ्य निर्देशनालयले गएको साउन ७ गते पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो।

यसका लागि विभागले फागुन १ गते ६० वटा संस्थालाई बोलाइएको थियो। जसमध्ये ४८ संस्था सहभागी भएर आफैँ प्रणाली चलाउन सक्ने भएका छन् । एउटा समूहमा ३० जना राखेर २ समूहमा प्रशिक्षण दिँदै युजर नेम र पासवर्ड दिने गरिएको छ ।

स्वास्थ्य विभागका प्रमुख सजिना महर्जनका अनुसार यसअघि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) कार्यान्वयनमा थियो ।

एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले औषधि पसलबाहेक रोगको परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ ।

प्रतिक्रिया