ओली–प्रचण्डको विरोध र चेपुवामा यसरी पर्दैछन् सभामुख सापकोटा

प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपाका दुई जना संसदीय दलका नेता, कसले पाउनेछन् मान्यता?


काठमाडौं– पुनःस्थापित प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ४ बजे नयाँ वानेश्वरस्थित संघीय संसदमा बस्नेगरी कार्यसूची तयार पारिएको छ। सर्वोच्च अदालतले सदन पुनःस्थापित गरेपछि बस्न लागेको यो बैठकमा भने विवादमा मुछिसकेका सभामुख अग्नी सापकोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कारण चेपुवामा पर्न सक्ने देखिएको छ।

बैठक अघि नेकपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले टुंगो लगाएको खण्डमा सापकोटालाई सहज हुनेछ। तर यदि त्यसो हुन नसके नेकपाको संसदीय दलको नेताको हैसियतमा उनले कसलाई बोल्ने समय दिन्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

यहि विषयमा उनी विवाद र चेपुवामा पर्ने निश्चितप्रायः छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक हुँदै व्यक्तिगत तहमा नै तिक्तता भइसकेका सभामुखले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको हैसियतमा बोल्न दिए भने के होला?

यहि प्रश्नको वरिपरि विश्लेषण गरिएको छ। अर्कोचाहिँ प्रचण्डलाई त्यो मान्यता दिएनन् भने के होला?

जानकारहरूका अनुसार नेकपा विभाजन वा आधिकारिकताको टुंगो बिना नै बैठक बसेको खण्डमा सभामुखले प्रचण्डलाई संसदीय दलको नेताको हैसियतमा रोष्टममा बोलाए ओली पक्षका सांसदले विरोध गर्नेछन्। यो प्रक्रिया यत्तिकैमा टुंगो लाग्ने छैन। त्यसपछि सभामुख सापकोटा दलको गुटीय प्रभावमा परेको आरोपसहित महाअभियोगसम्म  लगाउने रणनीति ओली पक्षले लिन सक्छ।

अर्कोचाहिँ ओलीलाई नै संसदीय दलको नेताको हैसियतमा बोल्न दिएको खण्डमा प्रचण्ड पक्षको दबाबमा सापकोटा पर्नेछन्। प्रचण्डको लविङका आधारमा नै उनी सभामुखमा निर्वाचित भएका हुन्। खासगरी उनलाई प्रचण्ड गुटको गोटी बनी संवैधानिक पदको मर्दन गरेको भन्ने अभियोग यसअघि नै संवैधानिक परिषदको बैठकमा नजाँदा र त्यसपछि गरिएका विभिन्न पत्राचारमार्फत लागिसकेको छ।

प्रतिनिधि सभा विघटन भएपछि प्रचण्डलगायतले ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउन गरेको पहलमा दबाब दिँदै समय फेरेको विवादमा पनि सापकोटा मुछिइसकेका छन्। उनीविरुद्ध किर्ते गरेको मुद्दा पनि लगाइएको छ।

यी यावत प्रसङ्गलाई उल्लेख गरी एकातिर महाअभियोग दर्ता हुने त्रास छ भने अर्कातिर प्रचण्डको दबाब। सापकोटाले कस्तो निर्णय लिनेछन् त्यो भने बैठकका क्रममा नै खुल्नेछ।

प्रतिक्रिया