नेपाली चिकित्सकबाटै पहिलोपटक कलेजो प्रत्यारोपण


काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो। टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो।

डा भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए। उनले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे।

त्रिवि शिक्षण अस्पतालमा सबै प्रकारका उपचार सेवा रहेकाले पनि प्रत्यारोपण सहज भएको डा. भण्डारी बताउँछन् ।

 

प्रतिक्रिया