


नाउपाको अधिवेशनमा रेशम चौधरीसँगै बयलगाडामा देखिए माधव नेपाल

टीकापुर– रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी(नाउपा)को पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ ।
कैलालीको टीकापुरमा हुने महाधिवेशनमा सहभागी हुन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसमेत पुगेका छन् । उनी चौधरीसँगै बयलगाडामा चडेर अधिवेशनस्थलतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ ।
बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ ।
नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।
विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

