उत्तरगयाधाममा पुसे औंसी श्राद्ध गर्नेको घुइँचो


रसुवा – रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको घुइँचो लागेको छ । बिहीबार बिहानैदेखि उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरुको घुइँचो लागेको हो ।

त्रिशुली र फलाखु खोलाको संगमस्थल उत्तरगयामा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरुले दिवंगत आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण दिने गर्छन् ।

स्वर्गीय बाबु–आमा तथा आफन्तको नाममा भक्तजनले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरुको संख्या बर्सेनि बढ्दै गइरहेको छ ।

भारतको गया जान नसकेका श्रद्धालुहरु नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् । यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु–आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ । पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ ।

उत्तरगयामा भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरु श्राद्ध गर्न आउने गरेका गर्दछन् ।

 

प्रतिक्रिया