
टिआरसी विधेयक सहमतिमै टुंगो लाग्छ : कानुनमन्त्री
काठमाडौं – कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकलाई सहमतिमै टुंगो लाग्ने बताएका छन् । उनले आगामी अधिवेशनबाट विधेयक पास हुनेगरी शीर्ष नेताहरुसँग अनौपचारिक छलफल भइरहेको बताएका हुन् ।
बिहीबार संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
संक्रमकालीन न्यायको विषयलाई राजनीतिबाट अलग गरेर हेर्न नसकिने भन्दै उनले सहमतिमै टुंगोमा पुग्ने बताए । उनले भने, ‘माननीय सदस्यहरुले भन्नुभएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ । सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतले धारणा राखेका थिए । सो क्रममा बर्तौला र परियारले सहमति नभएका विषयलाई बहुमतबाट भएपनि टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।
मन्त्री गुरुङले आफ्नै पार्टी कांग्रेसका नेता लेखक, एमालेका बर्तौला र रास्वपाका परियारको ‘विद्वान’ र परिपक्क धारणा राख्ने नेता भन्दै नेताहरुको धारणा सुन्दा आफूलाई नमिल्ने कुरा केही नभएको जस्तो लागेको बताए ।
मन्त्री गुरुङले भने, ‘अन्तिमसम्म प्रयास गरौँ । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’ कुनै विषयमा सहमति नभएमा बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विषयमा आज सर्वसहमति भएको भन्दै उनले अब टिआरसी विधेयक टुंगोमा पुग्ने बताए ।



कागजपत्र |
