

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलका कार्यकर्ता साङपाङकै कार्यकक्षमा

काठमाडौँ – विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ सङ्गठनका कार्यकर्ता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगेको छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका मेयर हर्कको कार्यकक्षमा सोही फेटो राख्न उनीहरू उपमहानगर पुगेको प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार अहिले मेयर मेयर हर्क साम्पाङ र युवा तथा भ्रातृ सङ्गठनका नेता कार्यकर्ताबीच छलफल भइरहेको छ । परिस्थिति असामान्य हुनसक्ने आकलन गरेर त्यहाँ प्रहरी परिचालन गरिएको जनाइएको छ ।
काँग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी सङ्गठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । त्यसको केही दिनअघि साम्पाङले विवादित स्ट्याटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।

