


नयाँ ‘सुपारी’ लिएर आएका थिए मोस्ट वान्टेड ‘सार्प सुटर’ सिंह

काठमाडौं– गत कात्तिकमा बाराको कलैया उपमहानगरपालिका–६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई गोली हानिएको थियो । दुई मोटरसाइकलमा आएका चार जनाले गोली चलाउँदा प्रिन्सिपल स्वर्णकार घाइते भएका थिए । उनलाई उपचारका लागि वीरगञ्ज लगे लगत्तै उनको मृत्यु भएको थियो ।
प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंहलाई पक्राउ गरिएको थियो।
तर, हत्याका मुख्य आरोपी भने फरार थिए । ती आरोपी थिए, नेपाल र भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सुजित कुमार सिंह । उनी भारतमै लुकेकोे सूचना बारा प्रहरीलाई थियो । तर, घटना घटेको २ महिनापछि सिंह फेरि नेपाल आउन लागेको सूचना बारा प्रहरीले पाएको थियो ।
सोही अनुसार प्रहरीले उनलाई धरपकड गर्ने योजना बनायो । योजनापछि भारतको मोतीहारी घर भएका २५ वर्षीय सिंहलाई गएराति बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।
सिंहसहितको टोली हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएलगत्तै प्रहरीको टोली खटिएर उनलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए । सिंहलाई पक्राउ गर्दा उनले प्रहरीमाथि एक राउन्ड गोली चलाएका थिए । त्यसपछि जबाफी फायरिंगमा प्रहरीले सिंहको घुडामुनि गोली प्रहार गरेको थियो । दुवै खुट्टामा प्रहरीको गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।
सिंहको बन्दुकबाट फायर भएको गोलीको खोका, १ थान घरेलु हतियार र गोलीसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तर, उक्त टोलीमा भएका अन्य सदस्य भने फरार भए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विगत ५ वर्षदेखि बारा, पर्सा, रौतहटलगायत जिल्लाहरूमा भएका विभिन्न आपराधिक घटनाहरूमा सिंहको संलग्नता रहेको पाइएको छ । उनले ‘सुपारी’ (केही रकम लिएर हत्या गर्नु) लिएर विभिन्न घटना घटाउने गरेका थिए । प्रहरी स्रोतका अनुसार उनी नयाँ सुपारी लिएर हत्या गर्नकै लागि पुनः नेपाल छिरेका थिए । तर प्रहरीले ‘टार्गेट’ गरिएका व्यक्तिको सुरक्षाको विषय भएकाले उनको परिचय गोप्य राखेको छ ।
पक्राउ परेका ‘सार्प सुटर’ सुजित कुमार सिंहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ ।

