

गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण

कैलाली- कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परिक्षणमा २ जनाको संक्रमण पुष्टि भएको हो ।
सीमा नाकामा ७० जनाको एन्टीजेन परिक्षण गरिएकोमा ६८ जनाको रिपोर्ट भने नेगेटिभ आएको केन्द्रले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परिक्षण गरिएको छैन ।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टीजेन गरी ६ लाख ७१ हजार ८४ नमूनाको कोरोना परिक्षण गरिएको छ । जसमा ६२ हजार ४७८ मा संक्रमण पुष्टि भएको थियो । सुदूरपश्चिममा कोरोनाका कारण ६३७ जनाले ज्यान गुमाएका थिए । सुदूरपश्चिममा मंसिर ११ गते यता कोरोना परिक्षण गरिएको थिएन ।
केलालीसँगै जोडिएको भारतमा नयाँ प्रजातिको कोरोना भाइरस देखा परेको छ । उक्त भाइरसका कारण भारतमा कोभिडका बिरामी उल्लेख्य मात्रामा बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मंगलबार कोभिड–१९बाट सङ्क्रमित हुनेको संख्या १ हजार ९७० पुगेको छ। सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ।
अहिले भारतमा सङ्क्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा भएको भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

