स्वास्थ्य क्षेत्रमा आतंकः संघका नाममा कालोसूचीमा परेका व्यवसायीका कारण लाखौं बिरामी प्रभावित


काठमाडौं – कोरोना महामारीपछि विस्तारै तङ्ग्रिँदै गरेको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय सीमित व्यक्तिहरुले निहीत स्वार्थका लागि आतंक नै मच्चाइरहेका छन् । स्वास्थ्य व्यवसायी संघको नाममा कालोसूचीमा परेका सप्लायर्सले विभिन्न उच्च अधिकारीहरुको नाम लिँदै स्वास्थ्य क्षेत्रमा आंतक मच्चाएका हुन् ।

गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने र आफूले मोटो कमिसन लिने उनीहरुको दिनचर्या नै बनेको गुनासो बढेपछि अनुसन्धान सुरू गरिएको छ ।

कालोसूचीमा परेका व्यक्तिले स्वास्थ्य व्यवसायी संघको नाममा गैर कानुनी काम गर्नका लागि कर्मचारीलाई दबाब दिएको गुनासो बढेपछि उनीहरूका गतिविधिबारे उच्च तहमा अनुसन्धान सुरु भएको छ ।

विश्व बैंकले विभिन्न निकायमा टेन्डर हालेर नक्कली डकुमेन्ट पेश गरेको र गुणस्तरहित सामान ल्याएको प्रमाणका आधारमा स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेत र नेशनल बायोमेडिकल सप्लायर्सलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेको उनको सप्लायर्सले स्वास्थ्य क्षेत्रका नियमित खरिद प्रक्रियालाई समेत असर पार्दै आएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् । बस्नेतले आफूले नपाए अरुलाई पनि पर्न नदिने भन्दै अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत उजुरी गरेर गलत प्रयोग गरिरहेको अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले संघका अध्यक्ष भनिएका नवराज बस्नेत र अर्का स्वास्थ्य व्यवसायी नारायण कार्कीले स्वास्थ्यको प्रणाली सुधारका लागि जहिले पनि अवरोध गर्दै आइरहेका छन् । उनीहरुले आफू सम्बद्ध फर्मले नपाउने भएपछि यस्तो किसिमको अवरोध गर्ने गरेका हुन् ।

कार्कीले यसअघि यस्तै किसिमको अवैध  काम गरेपछि प्रहरीले पक्राउ गरेको थियो यद्यपि उनले गल्ती नदोहोर्याउने शर्तमा छुटेका थिए । बिचमा केही समय बाहिर नदेखिएका कार्कीले पछिल्लो समयमा प्रदेशलगायतका विभिन्न अस्पतालका प्रमुखहरुलाई आफू सम्बद्ध सप्लायर्सबाट सामाग्री खरिद गर्नुपर्ने भन्दै धम्क्याउन थालेको जनाइएको छ ।

उनले यसअघि विरोध खतिवडा स्वास्थ्य मन्त्री भएको समयमा मन्त्रालयमा रवाफ देखाउँदै आएका थिए । उनले त्यतिबेला कर्मचारी सरुवा, स्वास्थ्य सामाग्री खरिद,  औषधी खरिद र अन्य काममा मन्त्रालय र स्वास्थ्य संस्थाहरुमाथि हस्तक्षेप गर्दै आएको जनाइएको छ ।

कतिपय अवस्थामा खतिवडाले मातहतका कार्यालयलाई ‘कार्कीले भने अनुरुपको काम गर्नु’, भनेर सिधै निर्देशन दिने गरेको समेत जनाइन्छ ।

अहिले पछिल्लो समय उपकरण अभावले देशभर डायलासिस गर्नुपर्ने बिरामीहरुले पालो नपाएर मृत्युवरण गरिरहेका छन् । त्यसका लागि डायलासिस मेसिन खरिद प्रक्रियामा पनि यी दुईले अवरोध पुर्याउँदै आएको स्रोतले जनाएको छ ।

विश्व बैंकको कालोसूचीमा परेका कारण बस्नेत विश्व बैंककै खरिद प्रभावित बनाउन लागेको अधिकारीहरू बताउँछन् ।

प्राप्त विवरण अनुसार विश्व बैंकले बस्नेत सञ्चालक रहेको नेशनल बायोमेडिकल सप्लायर्स सन् १० अप्रिल २०१८ देखि ०९ अप्रिल २०२४ सम्म खरिद नियम अनुसार कालोसूचीमा राखिएको छ । त्यस्तै नवराज बस्नेत स्वयंलाई समेत विश्व बैंकले १० अप्रिल २०१८ देखि निरन्तर कालोसूचीमा राखेको जनाएको छ ।

विश्व बैंकको कालोसूचीमा रहेका सप्लायर्सले स्वास्थ्य उपकरण खरिदमा आतंक मच्चाउन थालेपछि यो विषय अहिले चर्चामा आउन थालेपछि सम्बन्धित निकायले जतिसक्दो खरिद प्रक्रिया टुङग्याएर देशभरका बिरामीहरुलाई उपचारका लागि वातावरण बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया