राजतन्त्रलाई चिहानबाट फर्काउन भूतप्रेतवादी तत्त्वहरु सलबलाएका छन्: ओली


काठमाडौं-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्त्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयासमा लागिरहेको बताएका छन् । राष्ट्रिय एकता र सम्वृद्धिका लागि ‘झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्रा’को क्रममा डडेल्धुरा पुगेका ओलीले बसपार्कमा आयोजित सन्देश सभामा यस्तो बताएका हुन् ।

उनले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा लागेको टिप्प्णी गरेका छन् । ‘१५ वर्षअघि सकिएको राजतन्त्रलाई चिहानबाट फर्काउन भूतप्रेतवादी तत्त्वहरु सलबलाएका छन्’ उनले भने ।

यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।

‘हामी अहिले मिसन ८४ भनिरहेका छौं। यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ,’ उनले भने, ‘तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं। यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’

उनले सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको जिकीर गरे।

प्रतिक्रिया