कांग्रेस नवलपरासीमा चरम विवाद, पहिलो जिल्ला भेला संस्थापन पक्षद्वारा बहिष्कार


congresflag

नवलपरासी – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले उद्घाटन गर्ने नेपाली कांग्रेस पश्चिम् नवलपरासीको पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ ।

पार्टीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको, केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका व्यक्तिहरूलाई मात्र मनोनीत गरेको लगायतका असहमति रहेको जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्न लागेको  नेता मोहन शर्माले बताए ।

देवेन्द्रराज कँडेल (संस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्यहरु सहित भ्रातृ संगठनहरुले समेत आपत्ति जनाइरहँदा जबरजस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माले बताएका छन् ।

यता ईतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले भने पार्टीका हरेक कमिटीहरू स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने उल्लेख गरे । ‘केन्द्र, प्रदेशले नगरी जिल्ला आफैले पनि पार्टी विधानगत कार्यक्रम गर्न सक्छ, हरेक कुरामा आपत्ति जनाउने कुरामा केही भन्नू छैन’, खनालले भने ।

जिल्लामा बिक्रम खनाल (ईतर) र देवेन्द्र राज कँडेलको दुई गुट रहेको छ । दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । केही समय अगाडि प्रतापपुर गाउँपालिकाको सुर्यपुरामा बिपी शालिक अनावरण कार्यक्रममा समेत संस्थापन पक्षले उपस्थिति जनाएन ।

प्रतिक्रिया