


केपी ओली कप टी–२०ः उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्ने

कास्की – केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
मधेशले दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मधेशले एपीएफलाई ११ रनले हराउँदै फाइनल प्रवेश गरेको हो । मधेशले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८६ रनमात्र बनाएको छ ।
त्यसअघि पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।
पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराएको आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै पूरा गर्यो ।
आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । कप्तान विनोद भण्डारी २५ रनमा आउट भए ।
पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । बागमतीका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन् ।
कप्तान सन्दीप लामिछानेले १९ रन बनाउँदा रित गौतम १४ रनमा आउट भए । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए । विवेक यादवले एक विकेट दिए ।
बागमतीका लागि सन्दीप लामिछानेले २ विकेट लिदा, प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान १-१ विकेट लिए ।

