कालीगण्डकी करिडोर पर्वत खण्डको कालोपत्रेको शिलान्यास


पर्वत – दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घाखण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको छ । फलेवास नगरपालिका–६ देवीस्थानको ढिकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गरे ।

जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको कुर्घास्थित लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २३ करोड बजेट विनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागिसमेत अर्थमन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम शुरु हुन लागेको हो । दुई सातापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आफूले निर्वाचनअघि गरेका बाचाहरु पूरा हुँदै गएको बताए । उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै कुनै पनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पद्म गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, फलेवास नगरपालिकाका प्रमुुख पद्मपाणि शर्मा, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललगायतले पनि जिल्लाका विकास निर्माणका बारेमा बोलेका थिए।

करिडोर आयोजना पाल्पाका प्रमुख सुबोध देवकोटाले दुई वर्षभित्र सडकको सबै काम सम्पन्न गर्ने बताए ।

उनले सडकको गुणस्तरमा कुनै सम्झौता नहुने बताउँदै सो खण्डको लमायखोलामा पक्की पुल निर्माणमा त्रुटि भएकाले पुनः अर्को पुल निर्माणका लागि पहल गर्ने बताए ।

प्रतिक्रिया