


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काभ्रे – काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चौंरीदेउराली गाउँपालिका–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चौंरीदेउराली– ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईंको मृत्यु भएको छ भने उनका श्रीमान् दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् ।
मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । गोमाको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । घाइतेको आँखा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र) मा उपचार भइरहेको छ ।

