इजरायल–लेबनान सीमामा एक नेपाली शान्ति सैनिक घाइते


काठमाडौं – लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वका क्रममा नेपाली शान्ति सैनिक सामान्य घाइते भएको नेपाली सेनाले जनाएको छ ।

इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा एक नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

यही अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय)मा उक्त घटना भएको उनले बताए । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित ‘मोर्टार सेल’को ‘चोइटा’ले सामान्य चोट लागेको उनको भनाइ छ ।

उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा मोर्टार सेलको ‘चोइटा’ खसेको थियो । सबै शान्ति सैनिक बंकरभित्र बसेका थिए ।

लेबनानमा हाल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् । एक डेपुटी फोर्स कमान्डर, २४ मिसन स्टाफ र एउटा बटालियनमा ८४९ गरी लेबनानमा कुल ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।

 

प्रतिक्रिया