पर्यटकीय क्षेत्रमा फस्टाउँदै किवी खेती


फुङ्लिङ (ताप्लेजुङ) – फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरूमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ ।

सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हुँदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मंसिर महिना पर्यटकको खचाखच हुने लालीखर्क बिस्तारै सुनसानजस्तै बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर पर्यटन लक्षित गरेर होटल सञ्चालन गरेका थिए ।

लालीखर्कलाई चिरेर बिचमा पारेर सडक अहिले सिरिजङ्गा गाउँपालिकाको मांमाखे पुगेछ । यस पदमार्ग हुँदै जाने पर्यटक गाडीमा फहुत्तिएर मामांखे पुग्न थाल्यो ।

लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई जान थालेको स्थानीय भइरहेको छ । लालीखर्क क्षेत्रमा विगतमा होटल खचाखच हुने ठाउँमा अहिले बसाइँसराइले घर खाली भएको छ । विगतमा १३ वटा होटल सञ्चालनमा थियो तर अहिले तीन वटा घर मात्रलाली खर्कमा बसोबास गर्दै आएको स्थानीय धनबहादुर विष्टले बताए । उनले भने, ‘अहिले लालीखर्क पहिलेको जस्तै छैन । सुनसान भएको छ । मेरो पनि परिवार सबैले घर छोडेर गइसकेका छन् । दुई चार वटा गाईबस्तु छन् त्यै भएर म यतै छु । किन्ने आएमा बिक्री गरेर म पनि जाने सोचमा छु ।’

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देखिन सकिन्छ । तर अहिले कहीँ कतै एउटा गिलास चियार पनि पाइँदैन ।

स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाले । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती बिस्तारै गर्न थाले । लालीखर्कका फाँटमा किवीको बोट झाँकिन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गरेको लिम्बूले बताए । उनले भने, ‘यो साल पनि राम्रो फलेको छ, तर व्यवसायीकरण आउँदो वर्षदेखि चाहिँ हुन्छ ।’ लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार केजीसम्मको फल रहेको लिम्बूले बताए । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताए ।

किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममालालीखर्क कृषि फार्म दर्ता गरेका छन् । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले रु पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । पाँचलाख अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गरेको लिम्बूले बताए ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुँदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवी खेती गर्न थालेका छन् ।

ताप्लेजुङमा पाँच/आठ वर्षअघिदेखि किसानले किवी खेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवी खेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ ।

गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद/बिक्री भएको किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए ।

शीत भण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्न सक्ने अवस्था रहेको काम्बाङले बताए ।

प्रतिक्रिया