


सशस्त्रका सिसं.१५ का इन्स्पेक्टर टोली पासआउट, यस्तो देखियो दीक्षान्त समाराेह (तस्बिरहरू)
प्रधानमन्त्री भन्छन्, ‘तपाईहरुसँग राज्यले निकै ठूलो भरोसा गरेको छ ।’

काठमाडाैं – सशस्त्र प्रहरी बलमा सिसं–१५ का इन्स्पेक्टर टोली पासआउट भएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशनात्मक सम्बोधन गरे ।
आइतबार दीक्षित भएर कार्यक्षेत्रमा जान लागेका अधिकृतहरुलाई राज्यले ठुलो लगानी गरेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने–‘तपाईहरुसँग राज्यले निकै ठूलो भरोसा गरेको छ ।’
प्रधानमन्त्रीले लगानी अनुसारको नतिजाको अपेक्षा राज्यले गरेको बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यवसायिक क्रियाकलाप वा प्रभावमा नपरी अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्दछु ।’
सशस्त्र प्रहरीलाई थप विशिष्टिकृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेका छन् । भूराजनीतिक सम्बन्ध र सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा समेत नयाँ कार्यशैलीको माग गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने,‘सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीहरूको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीहरूलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने मैले विश्वास लिएको छु ।’

