विश्वकप क्रिकेटः आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै


काठमाडाैं – आईसीसी एक दिवसीय विश्वकपको तेस्रो दिन शनिबार एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको उक्त भिडन्त दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ ।

दिवा—रात्रि रूपमा खेलाइने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । श्रीलङ्का र दक्षिण अफ्रिका र दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट मान्यता पाएका राष्ट्र हुन् । आईसीसीको पछिल्लो एक दिवसीय वरीयतामा दक्षिण अफ्रिका चौथो र श्रीलङ्का सातौँ स्थानमा छन् ।

श्रीलङ्काले एक दिवसीय विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ । त्यसैले विश्वकपमा श्रीलङ्काको यो १३औँ सहभागिता हो । दक्षिण अफ्रिकाले भने सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो । विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो ।

विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, एडन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा, टाबरिज सामसी र रासी भान डेर डुसान रहेका छन् ।

यसैगरी श्रीलङ्काली टोलीमा दसुन सानका (कप्तान), कुसल मेन्डिस (विकेटकिपर तथा उपकप्तान), पाथुम निसानका, कुशल जनिथ, दिमुथ करुणारत्ना, चरिथ असालंका, धनन्जया डा सिल्भा, सदिरा सामराबिक्रमा, दुनिथ वेल्लालागे, कसुन रजिथा, मथिसा पाथिराना, लाहिरु कुमारा, वानिन्दु हसारंगा, महिस थिकसना र दिल्सान मधुसानका रहेका छन् ।

प्रतिक्रिया