एक्स्काभेटरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा मृत्यु


रुकुम पश्चिम – रुकुम पश्चिममा एक्स्काभेटरकाे ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ। सानीभेरी गाउँपालिका-१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएकाे प्रहरीले जनाएकाे छ।

आज शुक्रवार दिउँसाे विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरकाे डोजरले ठक्कर दिएको थियो। उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए।

डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो। अवस्था गम्भीर भएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेकाे छ। डोजर पनि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया