एनआरएनए महाधिवेशन : महिला उपाध्यक्षमा यासमिनलाई टक्कर दिन आइन् रोजिना


काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा बेलायतबाट रोजिना प्रधान राईले उम्मेदवारी दिने भएकी छिन्। यसअघि महिला सचिवमा तयारी गरिरहेकी राईले आफ्नो निर्णय बदल्दै महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

‘यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने मेरो पूर्व घोषणामा परिवर्तन गरि अब म एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिन चाहन्छु,’ उनको भनाइ छ, ‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो। विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुँ।’

उनी उपाध्यक्षमा चुनाव लड्ने भएपछि महिला सचिवमा टीका गुरुङलाई सहज हुने भएको छ। यता, महिला उपाध्यक्षमा मध्यपूर्वकी यासमिन बेगमलाई धक्का लागेको छ। तीन वटै प्यानलमा परेर निर्विरोध हुने कसरत गरिरहेकी यासमिनलाई रोजिनाले चुनौती दिएकी हुन्। रोजिनालाई महेश श्रेष्ठ प्यानलको सहयोग रहेको बताइन्छ।

प्रतिक्रिया