दशैंका लागि विदेशबाट घर आउँदै हुनुहुन्छ ? नल्याउनुस् अरूकाे सामाग्री


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा जानकारी गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो ।

कार्यालयका अनुसार दशैं, तिहार तथा छठमा विदेशबाट नेपाल आउने यात्रुहरुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानूनले छुट सुविधा दिएको सामान छुटमा ल्याउन पाउने छन् । व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामानबाहेक अन्य सामान नल्याउन कार्यालयले अनुरोध गरेको छ ।

भन्सारले साउदी अरब, युनाइटेड अरव इमिरेट्स, कतार, हङकङ, थाइल्याड तथा मलेसियाका अन्तराष्ट्रिय विमानस्थल तथा आसपासबाट अपरिचित व्यक्तिले मेरो घरमा पुर्याउने सामान हो भनेर नल्याउन आग्रह गरेको छ ।

‘मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउनु हुन्छ । तपाइलाई केही पैसा सहयोग गर्छु भन्दै प्रलोभनमा पारी विभिन्न सामानहरु (जस्तै ल्यापटप, मोबाइल, सुन, घडी आदि) पठाउने र यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्तिहरु कानूनी कारबाहिमा पर्ने घटना बढ्दै गएको छ । अपरिचित व्यक्तिले दिएको सामान नल्याउनु होला’, कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यात्रुले मापदण्डभन्दा बढि मालवस्तु लिएर आएमा, त्यस्तो मालवस्तु जफत हुने सो वस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने कानूनी व्यवस्थाको पनि कार्यालयले अवगत गराएको छ ।

प्रतिक्रिया