


खुलामञ्चमा काठमाडौं महानगरले ताला लगाएर राख्न पाउँदैन : सीडीओ बस्नेत

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० का अवसरमा आज (आइतबार) आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विगतमा खुलामञ्च सबैले खुला रूपमा प्रदर्शन र अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि सोहीअनुसार प्रयोगमा ल्याइनुपर्ने उनले बताए । खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकार कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको उनले बताए ।
खुलामञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्दा माइतीघरमा आन्दोलन र प्रदर्शन गर्ने गरिएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ ।
खुलामञ्चमा सुरक्षित रूपमा प्रदर्शन गर्न दिइए माइतीघरदेखि बानेश्वरसम्मको दैनिक ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए । माइतीघरबाट बानेश्वरसम्म दैनिक रूपमा सडक अवरुद्ध हुने गरेको उनले उल्लेख गरे । प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको उनले औँल्याए ।
ट्राफिक व्यवस्था अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रूपमा प्रदर्शन गर्ने ठाउँ नहुनु भएको उनले बताए । सोही कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले पनि खुला मञ्चमा ताला लगाएर राख्न नहुने बताएका थिए । उनले खुलामञ्च सर्वसाधारणका लागि खुला हुनुपर्ने बताएका हुन् ।

