विवेकशील साझाद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामा माग


काठमाडौँ – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गर्दै संसद पुनस्थापना गर्ने  सर्वोच्च अदालतको फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेकाे छ । अदालतको ऐतिहासिक कदमले संविधानवादको रक्षा, विधिको शासनको पुनर्बहाली भएको  र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको पनि बताएकाे छ ।

विवेकशील साझाले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै अदालतको प्रतिनिधिसभा पुस्थापना गर्ने फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको बताएकाे छ ।

‘अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको छ। अदालतको कदमले संविधानवादको रक्षा भएको छ, विधिको शासनको पुनर्बहाली भएको छ र मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको छ। यो सँगै हाम्रो न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने महत्त्वपूर्ण सन्देश पनि प्रवाह भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

विवेकशील साझाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवि भण्डारीकोे तत्काल राजिनामा माग समेत गरेकाे छ । ‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ। विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ। त्यसै गरी संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ।’

बिबेकशील शाझाले राष्ट्रपति भण्डारीले तत्काल पदबाट राजीनामा नदिए पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई आह्वान गर्ने चेतावनी समेत प्रस्तुत गरेकाे छ।

पछिल्ला राजनीतिक घटनाक्रममा भण्डारीको भूमिका र नेपालको राष्ट्रपति संस्थाको आजसम्मको अभ्यासको  पुनरावलोकन गर्दा राजनीतिक दलमा असम्बद्ध व्यक्तिले मात्र उक्त पदको गरिमा र अपेक्षित मर्यादा कायम अक्षुण्ण राख्न सक्ने पनि बताएकाे छ  ।

विवेकशील साझा पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि माग गरेकाे छ ।

प्रतिक्रिया