

प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता कार्तिकमा

काठमाडौं – नेपाली सेनाको आयोजनामा छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी कार्तिक ३ गते आयोजना हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क महाशाखाका महाशाखपति महासेनानी विजय केसीले जानकारी दिए ।
उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी असोज १५ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताए । दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुने उक्त प्रतियोगिताको जम्मा दूरी ४३ दशमलव ७ किलोमिटरको हुनेछ । एक टिममा चार खेलाडी सहभागी हुने र उमेर १८ वर्षभन्दा माथिको हुनुपर्ने उनले जानकारी दिए ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुने टोलीलाई एक लाख, तेस्रोलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

