

बाबुको मुख हेर्ने दिनै बाबुलाई बिदाई गर्न विवश यी चार सन्तान…

काठमाडौं – आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । यही दिन नेपाली राजनीतिका शालीन नेता सुवास नेम्बाङलाई दुई छोराहरुले अन्तिम बिदाई गर्दैछन् ।
हिन्दु परम्पराअनुसार दिवंगत बुवालाई तर्पण दिने र जिवीत बुवाहरुको मुख हेर्ने परम्परा रहेकोमा यी मिङ्सो र सुहाङले आफ्ना बुवालाई मुखाग्नी (दागबत्ती) दिएर बिदाई गरेका छन् भने छोरीहरु शुसाङ र साराले पनि बुवालाई बिदाई गरेका छन् ।
नेपाली राजनीतिमा शालीन तथा भद्र नेताका रुपमा परिचित सुवास नेम्बाङको हृदयघातका कारण निधन भएको थियो । दुवै छोराहरु देशबाहिर रहेकोले उनको पार्थीव शरीर पार्टी कार्यालय र निवासमा राखेर श्रद्धाञ्जली दिँदै आज (बिहीबार) राजकीय सम्मानका साथ अन्तेष्टी गरिएको हो ।
किराँत परम्पराअनुसार निवासमै विधि पूरा गरी पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तेष्टी गरिएका नेम्बाङलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने देशका अन्य शीर्ष नेता तथा नेम्बाङका आफन्तहरुले फूलमालासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेपालको पछिल्लो संविधान जारी गर्दाका संविधानसभा अध्यक्ष रहेका नेम्बाङ त्यसअघि सभामुख, कानुन मन्त्रीका साथै लगातार २४ वर्षसम्म एउटै क्षेत्रबाट सांसद भएका थिए ।
कानुनका ज्ञाता मानिएका नेम्बाङ नेपालका बरिष्ठ अधिवक्ता समेत हुन् । उनको यही मंगलबार मध्यरातमा हृदयघातबाट निधन भएको थियो ।

