नेपाल सीमापार सुरक्षा र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न सरकार तयार छ : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझै राम्रोसँग सम्बोधन गर्न सकिने बताए । उनले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी नराम्रा क्रियाकलापहरू गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्व अतुलनीय रहेको बताए ।

‘नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ । हाम्रा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर हामी विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूलाई अझ राम्रोसँग सम्बोधन गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ,’ उनले भने, ‘हाम्रा राष्ट्रका प्रतिनिधिका रूपमा, हामीले हाम्रा नागरिकहरू भय र शोषणमुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्छ । यस बाहेक, हामीले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्छ र हाम्रा कानुन प्रवर्तन प्रयासहरू विधिको शासनको ढाँचामा सञ्चालन भएको सुनिश्चित गर्नुपर्दछ ।’

उनले अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गरे । उनले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले नागरिकहरु भयरहीतरुपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए ।‍

प्रतिक्रिया