

लम्पी स्किन रोगबाट देशभर ५२ हजार बढी पशुचौपायको मृत्यु

काठमाडौं – कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे। हालसम्म उपचारपछि १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए।
मन्त्रालयका अनुसार सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको छ। मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन् ।
यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ । ‘माटो परीक्षण, रोग, कीरा परीक्षण,रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह,सहकारीलाई प्राविधिक तालिम दिइएको छ,’उनले भने।

