एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी


काठमाडाैं  - नेकपा (एमाले) लुम्बिनी प्रदेश नेतृत्वका चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जारी रहने निर्वाचन समितिले जानकारी दिएको छ।

जारी निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्।

प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ।

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।

शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो।

सहमति जुट्न नसकेपछि साँझ सातबजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो।

 

प्रतिक्रिया