देशभर भएका विभिन्न सवारी दुर्घटनामा ८ को मृत्यु

रुपन्देही, कपिलवस्तु, बाँके, पर्सा, मोरङ, कैलाली र चितवनमा दुर्घटना


काठमाडौं – देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देही, कपिलवस्तु, बाँके, पर्सा, मोरङ, कैलाली र चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो  ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ जुगैडियास्थित सडकमा लु.६८ प ३५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका-४ बस्ने २० वर्षीय प्रभु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रामथ जीवन बराईको सोही अस्पतालमा र सोही ठाउँ बस्ने २५ वर्षीय सञ्जय चौधरीको शुद्धोधन पोलिक्लिनिक फर्साटिकरमा उपचार भइरहेको छ ।

त्यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका-८ मैनिहबास्थित सडकमा लु.६५ प ५४९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ दोहोनी बस्ने ३२ वर्षीय अब्दुल रहेमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-५ फुलटेक्रस्थित सडकमा भे.९ प ७९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-१९ फुहाटगाउँ बगानपुर बस्ने १७ वर्षीय अनावर अलि बागवानको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगंज महानगरपालिका-२४ रामगढवास्थित सडकमा ना.४ ख १८३९ नम्बरको कन्टेनर ट्रक र ना.५३ प ८७६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका-२ श्रीपुर पचगवा बस्ने ६० वर्षीय छठु साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार छठुकी छोरी २७ वर्षीया चन्दा देवीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि तराई अस्पताल पठाइएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-४ स्थित सडकमा प्रदेश नम्बर १-०१-००१ क १०३५ नम्बरको ट्रकले को.३१ प ५१ नम्बरको  स्कुटरलाई शनिबार बेलुका ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटरमा सवार उर्लाबारी नगरपालिका-८ सिसौली बस्ने २३ वर्षीय प्रदिप धामी र उर्लाबारी नगरपालिका-८ सिसौली बस्ने २२ वर्षीय सुदिप भुजेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

त्यस्तै कैलालीको कैलारी गाउँपालिका-३ भ्ररीस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल बयलगाडामा शनिबार बेलुकी ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ पचिसघर बस्ने ४२ वर्षीय खगेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बयलगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेचोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कालिका नगरपालिका-३ बस्ने ४० वर्षीय कुल बहादुर मोक्तानको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको खोजी भईरहेको छ ।  दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया