
बर्खास्त डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।
केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट सेवाग्राहीको ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन लिई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए । सो सूचनाका आधारमा केसीको निवास खानतलासी गर्दा नगदसहित सुन बरामद भएको थियो।
उक्त घटना भएको १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैंले जिम्मा लिएका थिए । उनले सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ।
ठग बहादुर केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो।



कागजपत्र |
